कोरोना कहरका बिचमा टोल टोलमा शिक्षा

सल्यान- कोरोना कहरका कारण सामुदायिक विद्यालय बन्द भएपछि टोलटोलमा शिक्षक खटाई बालबालिकाहरुलाई पढाउन थालिएको छ । शिक्षकहरु शैक्षिक सामाग्री सहित टोलमै पुग्न थालेपछि विद्यार्थी पनि खुशी भएका छन् ।
शिक्षक विद्यार्थीहरुको पायक पर्ने स्थानमा टोल विभfजन गरी पढाउने काम गरी रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक रविकिरण ओलीले बताए। कोरोना भाइरसका कारण अब पढ्न पाइदैन की भनेर चिन्तित बनेका विद्यार्थीहरुका लागि सामुहिक पढाई निकै सहज महसुस गरेको उनको भनाई छ । उनले भने ‘कलस्टर निर्धारण गरी शिक्षकहरु टोल टोलमा पुगी विद्यार्थीहरुलाई प्रोजेक्ट वर्क दिने काम भइरहेको छ ।’ बालविकास केन्द्रदेखि कक्षा १० सम्मका झन्डै ८ सय बढी विद्यार्थीहरु भर्ना भई सामुहिक अध्ययन गरी रहेको उनकाे भनाई छ ।
चैत पहिलो हप्ता देखि विद्यालयमा गई पठन पाठन गर्न नपाएका विद्यार्थीहरु आफ्नै गाउँटोलमा पढ्न पाएपछि खुशी भएका छन् । बन्दा बन्दीका कारण विद्यालय जान नपाएका बागचौर नगरपालिका ५ शिवरथकी निर्मला वि.क.ले शिक्षक टोल टोलमा पुगी प्रोजेक्ट वर्क दिनथालेपछि घरमै पढ्न थालेको बताइन । सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ५ शिवरथमा कक्षा १० मा अध्ययनरत उनले अरु साथीहरुसँगै सामुहिक रुपमा पठन पाठन गर्न थालेपछि निकै सहज भएको बताइन।
बागचौर नगरपालिकाका सबै विद्यालयहरुमा सामाजिक दुरी कायम गरी भर्ना गर्ने कार्यसँगै टोल टोलमा पुगी बालबालिकाहरुलाई पठनपाठन गराई रहेको बागचौर नगरपालिकाका शिक्षा शाखाका टेक बहादुर डिसीले जानकारी दिए ।
घरमा पठनपाठनको वातावरण नभएका र पाठ्यसामाग्रीको अभाव भएका बालबालिकाले घरमै सिक्न पाएको उनको भनाई छ । उनका अनुसार, ‘विद्यालयमा जान नपाए पनि अहिले उनीहरुलाई धेरै राहत मिलेको छ ।’ नगरपालिकामा ४४ प्राथमिक, १४ आधारभुत, १० माध्यमिक गरी ६८ सामुदायिक विद्यालय रहेका छन् ।
कोरोना महामारीका कारण क्वारेनटाइन बनाइएका जिल्लाका अधिकांश विद्यालयका विद्यार्थीहरु सामुहिक रुपमा गाउँ गाउँमा पढी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लाल बहादु घर्तीले बताए ।
विद्यालय कहिलेदेखि सञ्चालन गर्ने भन्ने अन्यौल भइरहेको अवस्थामा जिल्लाका विभिन्न विद्यालयले आफ्नो सापेक्षतामा पढाई भई रहेको उनको भनाई छ । क्वारेनटाइन नभएका र विद्यार्थी थोरै भएका केही विद्यालयका विद्यालयहरुले कक्षामा नै पढाई रहेको पाइएको उनले जानकारी दिए ।