मप विश्वविद्यालयका रजिष्ट्रार कार्कीको विदाई तथा सम्मान

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निमित्त रजिष्टार सहप्राध्यापक यामबहादुर कार्कीलाई विदाई  गरिएको छ । रजिष्ट्रार पदको अवधि सकिएपछि शुक्रबार मपले एक कार्यक्रमका बीच सम्मानसहित विदाई गरिएको हो ।
विदाई कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विश्वविद्यालय बनाउने सपना साकार पार्न आफु दिन रात लागि परेको बताए। उक्त कार्यमा रजिष्ट्रार कार्कीले खुलेर सहयोग र समन्वय गरेको स्मरण गर्दै उपकुलपति प्राडा सिंहले सहप्राध्यापक कार्कीबाट धेरै कुराको अनुसरण गर्नुपर्ने बताए। उनले भने, ‘समस्यामा नआत्तिने र खुसी हुँदा नमात्तिने उहाँको व्यवहार सबैले सिक्नुपर्छ ।’

अहिले जनतामा भएको विश्वविद्यालय प्रतिको अविश्वासलाई परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाई थियो । विश्वविद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उनले कुनै राजनितिक पार्टी, जात धर्मको नाममा जनताको खुन र पसिना बगेर बनाएको विश्वविद्यालयलाई कुनै पनि हालतमा बिग्रन नदिने बताए ।
‘जीवनभर बाचुञ्जेल काम गर्नुछ । त्यसैले कति बाचिन्छ भन्ने कुरा आफैबाट सम्झनुपर्छ र सही मार्गमा आजैबाट लाग्नुपर्छ ।’ उनले भने ।कार्यक्रममा रजिष्ट्रार कार्कीले विश्विविद्यालय बनाउनका लागि व्यक्तिगत नाफालाई भन्दा पनि संस्थागत हितका लागि काम गरेको बताए। विश्वविद्यालयलाई राष्ट्रिय मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा चिनाउनका लागि आफूले विश्वविद्यालयका हरेक गतिविधिलाई सकारात्मक तरिकाले अघि बढाएको बताउँदै सहप्राध्यापक कार्कीले विश्वविद्यालय बनाउन फेरि पनि आफ्नो क्षेत्रबाट सधै लागिपर्नेमा जोड दिए ।