दैलेखमा २५ शैयाको आइसोलेसन अस्पताल सञ्चालनमा 

सुर्खेत –दैलेखमा कोभिड–१९ संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन अस्पताल सञ्चालनमा आएको छ । दैलेखस्थित नारायण नगरपालिका–८ मा उक्त अस्पताल सञ्चालनमा ल्याइएको हाे । आइसोलेसन अस्पताल निर्माण सम्पन्न भएपश्चात सरस्वती माध्यमिक विद्यालय तर्ताङमा उपचाररत पाँच जना कोरोना संक्रमितलाई अस्पतालमा ल्याएर राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरन्जन पन्तले जानकारी दिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७१ लाख लागतमा निर्माण गरिएको उक्त आइसोलेसन अस्पताल बुधवारदेखि सञ्चालनमा ल्याइएको हो । दैलेखमा कोरोना संक्रमितको संख्या तिव्र रूपमा बढेपछि १५ दिनभित्र ५० शैयाको अस्पताल निर्माण गर्ने घोषणा गरिएको प्रमुख पन्तले बताए । अहिले सुरक्षाकर्मीको कक्षसहित २५ शैयाको अस्पताल तयार गरिएको छ । निर्माणको जिम्मा पाएको जेसिका निर्माण सेवाले १५ दिनभित्र अस्पताल निर्माण गर्ने भनेतपनि लकडाउनका कारण सामग्री खरिदमा समस्या भएकोले करिव २ महिनामा निर्माण सम्पन्न गरेको हो । हालसम्म दैलेखमा कोरोना संक्रमितको संख्या आठ सय ४३ पुगेको छ । तीमध्ये ३५ जना जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा उपचाररत छन् भने १६४ जना क्वारेन्टाइनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिर प्रसाद रेग्मीले जानकारी दिए ।