कास्कीको माछापुच्छ्रेमा पहिरो : तीनजनाको मृत्यु 

पर्वत – कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। घरमा छजना बस्दै आएको भए पनि मृतकका हजुरबुबा प्रेमराज, हजुरआमा र अर्का एक व्यक्ति सकुशलै रहेका छन्। तीनजना घरको एकापट्टिको कोठामा र अन्य तीनजना अर्को पट्टीको कोठामा सुतेका थिए। उनीहरु सुतेको कोठा पहिरोले च्यापेको हो। डिएसपी हमालका अनुसार पहिरो बिहीबार राति वा बिहान पख आएको हो भन्नेबारे खुलेको छैन। तर स्थानीयले उज्यालो हुँदासाथ पहिरो देखेपछि प्रहरीमा खबर गरेका थिए। माछापुच्छ्रे गाउँपालिकाबाट तत्कालै पुगेको प्रहरी र वडा प्रहरी कार्यालय बगर पोखराबाट प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलबाट तीनवटै शव निकालेर पोखरा लैजाँदै गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र प्रहरी प्रमुख एस।पी। जीवनकुमार श्रेष्ठ पनि घटनास्थलमा पुगेका छन्।थाहा खबर