कर्णालीमा सक्रिय संक्रमित १६ सय बढी

वीरेन्द्रनगर – कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ सय नाघेको छ । शनिबारसम्मको तथ्यांक हेर्दा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ६ सय ३३ जना पुगेका छन् । शनिबार थप दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सात सय ३९ जनामा गरिएको परीक्षण गरिएको थियो । आरटी–पीसीआर गर्दा दुई सय १४ जना र रेपिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

शनिबार प्रदेशमा दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । सल्यानका २६ वर्षीय एक पुरुष र सुर्खेत निवासी ३२ वर्षीया एक महिलाको कोरोनाका कारणबाट ज्यान गएको प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमण भई मृत्यु हुनेको सख्या ५१ पुगेको छ ।