लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा  दिए

दाङ –  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा  दिएका छन्।

प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय ले जनाएको छ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।

प्रदेश सभामा आजबाट मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा छलफल सुरू हुँदै थियो।

मुख्यमन्त्री शंकर पोखरेल दाङ २ क बाट चुनाव जितेर २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।

वैशाख ६ मा विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन सुरू हुने दिन बिहानै राजीनामा बुझाएका हुन्।

लुम्बिनी प्रदेश सभामा यसअघि ८७ जना सांसद थिए। जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएपछि अहिले प्रदेश सभामा ८१ सदस्यीय रहेका छन

प्रदेश सभामा एमालेसँग ४१ सांसद छन्। नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई , त्यस्तै राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।
संविधाननको धारा १६८ १ अनुसार बहुमतको सरकार बनाउन पुग्ने ४१ सांसद आफ्नो दलका भएपछि पोखरेलले अविश्वासको प्रस्ताव पेश हुने दिन नै राजीनामा दिएका हुन्।

प्रदेश सभामा एमालेबाहेकका दलको सभामुखबाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ।

प्रदेश सभामा नेपाल पक्षका २ सांसद छन्।

 एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका पोखरेल विश्वासपात्र हुन्।