स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने ८ हजार २४ जना कारवाहीमा

नेपाल प्रहरीले स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने ८ हजार २४ जनालाई कारवाही गरेको छ ।
उनीहरुलाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको हो ।

पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर ले बताउनुभएको छ ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहीले कारवाही अभियानसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ५१८ सचेतनामूलक कार्यक्रम सम्पन्न भएको र तिनमा ६८ हजार ५६७ जना सहभागी भएका छन् ।
नेपाल प्रहरीले कोरोना सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।