घरेलु मैदानमा बार्सिलोना ग्रानाडासँग पराजित, प्रशिक्षक कोम्यानलाई रातो कार्ड

काठमाडौं – बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ। बिहीबार राति भएको खेलमा बार्सिलोना ८ औं स्थानको ग्रानडासँग २-१ गोलअन्तरले पराजित भएको छ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा कप्तान लियोनल मेस्सीले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एन्टोनी ग्रिजम्यानको पासमा मेस्सीले गोल गर्दै पहिलो हाफ १-० गोलअन्तरले सुरक्षित राखे पनि दोस्रो हाफमा २ गोल खान पुग्यो।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ग्रानडाका लागि ६३ औं मिनेटमा ड्रविन मेचिसले गोल गर्दै खेल बराबरीमा ल्याए। बार्सिलोनाका रक्षापंक्तिका ओस्कर मिन्जुगिजाले बल नियन्त्रण गर्न नसक्दा मेचिसले बार्सिलोनाका गोलकिपर टेर स्टेगनको टाङमुनिबाट आकर्षक गोल गरेका थिए।

बराबरीपछि दबाबमा परेको बार्सिलोनाले खेलमा फर्किने कैयौं अवसर सिर्जना गरे पनि गोल गर्न सकेको थिएन। यस्तैमा ७९ मिनेटमा ग्रानडाका जर्ज मोलिनाले गोल गर्दै टोलीलाई जित दिलाए।

​बार्सिलोनाका प्रशिक्षक कोम्यानलाई रातो कार्ड

यसैबीच आफ्ना खेलाडी लड्दा पनि रेफ्रीले सुनुवाइ नगरेको भन्दै आक्रोशित बनका बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। पहिलो बराबरी गोल खाएपछि कोम्यान आफ्ना खेलाडी र रेफ्रीप्रति क्रुद्ध बनेका थिए।