रितिँदै सल्यानका क्वारेन्टाइन र आइसोलेसन

सल्यान – सल्यानका पालिकाहरुमा निमार्ण गरिएको क्वारेन्टाइन र आइसोलेन खाली हुँदै जान थालेका छन् । मंगलबारसम्म जिल्लाका नौ पालिकामा ३ सय २३ जना क्वारेन्टाइनमा र १७ जना आइसोलेसनमा बसी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार दश पालिकामा निमार्ण भएका १ सय ९ क्वारेन्टाइन रहेकोमा अधिकांश खाली रहेका छन् । मंगलबारसम्म दार्मा गाउँपालिकामा २३, कुमाख गाउँपालिकामा २७, बागचौर नगरपालिकामा ७१, शारदा नगरपालिकामा १७, छत्रेश्वरी गाउँपालिकामा २८ जना बस्दै आइरहेका छन् । यस्तै, त्रिवेणी गाउँपालिकामा १२, कपुरकोट गाउँपालिकामा ३०, कालिमाटी गाउँपालिकामा १० र बनगाड कुपिण्डे नगरपालिकामा ९० गरी ३ सय २३ जना क्वारेनटाइनमा बसी रहेको पोखरेलले बताए । सिद्ध कुमाख गाउँपालिकाका सबै क्वारेनटाइन खाली रहेका छन् । जिल्लामा २ सय २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकाका ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १ सय ५१, कुमाख गाउँपालिकाका २७, सिद्ध कुमाख गाउँपालिकाका ३, छत्रेश्वरी गाउँपालिकाका १, त्रिवेणी गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कपुरकोट गाउँपालिकाका २, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १५ र जिल्ला अस्पताल सल्यानका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । ३०६ वेडको आइसोलेसनमा १७ जना सल्यानका विभिन्न पालिकामा निमार्ण गरिएका आइसोलेसन खाली हुदै गएका छन् । कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्र्किकएसँगै आइसोलेसन खाली हुँदै गएका हुन । आइसोलेसन कक्ष लुहापिङमा ७, बनगाड कुपिण्डेको आइसोलेसनमा ९ र छत्रेश्वरी गाउपालिकाका आइसोलेनमा १ जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार सोमबारसम्म ५ हजार १ सय ३६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा ४ हजार ८ सय ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ भने २ सय २५ जनाको पोजेटिभ र ३५ जनाको स्वाब परीक्षणमा रहेको छ । बन्दाबन्दीको बिचमा भारत लगायत तेस्रो मुलुक र अन्यजिल्लाबाट झन्डै १३ हजार बढी नागरिक जिल्ला भित्रिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।