चिनकाजीलाई कोरोना संक्रमण देखिएपछि रोकियो कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

गएको सोमबारकै लागि डाकिएको केन्द्रीय समिति बैठक कोरोना परीक्षणपछि मात्र बस्ने भन्दै आइतबारको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आजका लागि सारेको थियो । तर, कोरोना परीक्षणकै क्रममा रिपोर्ट पोजिटिभ आएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

“सोमबार पार्टी कार्यालयमा एन्टिजेन टेस्ट गर्दा रिपोर्ट नेगेटिभ थियो, त्यही दिन पीसीआर परीक्षण पनि गरिएको थियो,” श्रेष्ठले भने, “पीसीआर रिपोर्ट पोजिटिभ भनेर आयो । रिपोर्ट थाहा भएसँगै घरमै आइसोलेसनमा बसेको छु ।” उनले आफूमा कुनै पनि लक्ष्यण भने नदेखिएको बताए ।

केन्द्रीय कार्यालयकै एन्टिजेन परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि केन्द्रीय सदस्य नरहरि आचार्यका सहयोगी रामचन्द्र घिमिरे भने पीसीआर परीक्षणका लागि गएका छन् । “सोमबारकै एन्टिजेन परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि म घर फर्किएर आइसोलेसनमा बसेको थिएँ, अहिले पीसीआर परीक्षणका लागि जाँदै छु,” घिमिरेले बाह्रखरीसँग भने । उनले आफूमा कुनै लक्ष्याण भने नभएको जानकारी दिए । यस्तै, केन्द्रीय कार्यालयका सचिवको पनि पोजिटिभ रिपोर्ट आएको बताइएको छ ।