बुर्किना फासोमा यूरोपका ३ पत्रकारको हत्या

एजेन्सी – अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरूले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरूले बताएका छन्। हत्या गरिएकाहरूमा दुई जना स्पेनिस र एक जना आइरिस पत्रकार रहेका छन्।

बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरूमाथि आक्रमण भएको थियो।​ बुर्किना फासोका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी तीन जना पत्रकारको हत्या भएको र एक जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताएका छन्‌।

फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरू ६ जना घाइते भएका छन्। बुर्किना फासोका एक जना वरिष्ट सुरक्षा अधिकारीले आतंकवादी समूहले पत्रकारहरूको हत्या गरेको पुष्टि गरे। ती पत्रकारहरू रिपोटर्स विदाउट बोर्डर्ससँग आबद्ध थिए।

यद्यपी ती अधिकारीले आक्रमणकारी कुन समूहसँग आबद्ध थिए भन्ने केही बताएका छैनन्‌। सुरक्षा स्रोतका अनुसार, आक्रमणकारीले दुई वटा पिकअप सवारी साधन र एक दर्जनजति मोटरसाइकल प्रयोग गरेका थिए।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो मुलुकका दुई पत्रकारको हत्या भएको पुष्टि गर्नु भयो। उनले ट्वीट गर्दै हत्या गरिएका स्पेनिस पत्रकारहरूमा डेभिड बेरियान र रोबर्टो फ्राइल रहेको जानकारी दिए। विश्वकै गरिब राष्ट्र बुर्किना फासोमा इस्लामिक अतिवादी समूहले सरकारी फौजमाथि आक्रमण गर्ने गरेका छन्। उनीहरू सन् २०१५ मा छिमेकी मुलुक मालीबाट बुर्किना फासोमा प्रवेश गरेका थिए।

अल–कायदा र इस्लामिक स्टेटसँग आबद्ध समेतका जिहादी समूहहरूले बुर्किना फासोमा आक्रमणका घटना बढाउँदै लगेका छन्। करिब एघार सय व्यक्ति मारिएका छन् भने १० लाखभन्दा बढी मानिस घर छाडेर अन्यत्र पलायन भएका छन्। रिपोर्टर्स विदाउट बोर्डर्सका महासचिव क्रिस्टोफ डिलोएर आक्रमणको घटनाप्रति रोश प्रकट गरेका छन्‌। उनले शाहेल क्षेत्रमा पत्रकार निकै असुरक्षित रहेको पछिल्लो घटनाले पुष्टि गरेको छ भनेका छन्‌। ​तस्वीर :द गार्डियनु