काठमाडौं – कोरोना संक्रमणबाट देशका विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ। सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।
भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए। भेरिगंगाका संक्रमित वैशाख ५ र वीरेन्द्रनगरका संक्रमित वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए।
दाङका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। एक महिलाको जिल्लास्थित राप्ती प्रादेशिक अस्पताल र एक पुरुषको बाँकेस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। तुलसीपुरका ३१ वर्षीय पुरुषको उपचारका क्रममा हिजो बेलुका भेरी अस्पतालमा उपचारका मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय दाङले जनाएको छ। पुरुष बैशाख १२ गते अस्पतालमा भर्ना भएका थिए। यस्तै ३७ वर्षीया महिलाको हिजो बेलुका राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि महिला बैशाख ४ गते अस्पताल भर्ना भएकी अस्पतालले जनाएको छ।
डडेल्धुरामा गएराति एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बैतडीको दशथचन्द नगरपालिका ९ का ३२ वर्षीय पुरुषको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। उनि गत बैशाख ११ गतेदेखि डडेलधुरा अस्पतालमा उपचाररत थिए।
यस्तै पर्सामा थप तीन जनाको मृत्यु भएको छ। पर्साको पोखरिया नगरपालिका २ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि उनि उपचारका लागि अस्ति सोमबार अस्पताल भर्ना भएका थिए।
यसै गरी सर्लाहीका एक पुरुष र बाराकी एक महिलाको संक्रमणका कारण मृत्यु भएको हो। सर्लाही–४ धनगढाका ४३ वर्षीय पुरूषको बुधबार विहान १स्४० मा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिए।
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ कि ३० वर्षीया महिलाको उपचारका क्रममा बुधबार राति १२:१५ बजे मृत्यु भएको डाक्टर दासले बताए। मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा गएराति २ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ। झापाका ५५ बर्षिय पुरुष र मोरङ कटहरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए।
झापाको पुरुषलाई चार दिन अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। त्यसैगरी कटहरीका पुरुषलाई तिन दिन अघि अस्पताल भर्ना गरिएको थियो। उनलाई कडा खालको निमोनिया रहेको अस्पतालले जनाएको छ।
बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज-१७ की ३९ वर्षीया महिलाको भेरी अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। त्यस्तै नेपालगन्ज-१२ का ६५ वर्षीय पुरुषको भेरी अस्पतालमै आज बिहान साढे २ बजे मृत्यु भएको वलीले बताए।