वीरेन्द्रनगर—सुर्खेतमा मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले आज राति १२ बजेदेखि २१ गते राति १२ बजे एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार मंगलबार रातिदेखि सुर्खेत जिल्लाभर एक हप्ता निषेधाज्ञा आदेश लागु हुनेछ । बाँके र बर्दियामा पनि कोरोना नियन्त्रणभन्दा बाहिर गएकोले निषेधाज्ञा जारी छ ।
भारतबाट सुर्खेतलगायत कर्णालीमा भित्रिने क्रम पनि रोकिएको छैन । भारतबाट आउनेहरुमा संक्रमणको जोखिम उच्च भएकाले केही समय आवागमन रोक्नलाई निषेधाज्ञा आदेश लागू गर्न लागिएको उनले बताए ।
यसका साथै कर्णाली प्रदेश अस्पतालमा अप्ठ्यारो परेका बिरामीलाई दिने अक्सिजन पनि स्टक सकिएको जानकारी आएपछि भयाबह हुनसक्ने स्थितिलाई रोक्न र संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि निषेधाज्ञा जारी गरिएकोले प्रजिअ रिजाल बताए ।