लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध तिन दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादीले सहयोग गर्ने र लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारि अनुसार दुई दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी तीव्र पारेका हुन्।

लुम्बिनी प्रदेश सभामा कूल सांसद संख्या ८७ छ ।त्यहाँ एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।सरकार बनाउनका लागि बहुमत पुर्‍याउन ४३ मत आवश्यक पर्छ।

माओवादीका सांसद दधिराम न्यौपाने र दिनेश पन्थी एमाले प्रवेश गरेपछि माओवादी पार्टीले कारबाही गर्दा उहाँहरुको दुई सिट अहिले रिक्त रहेको छ ।
लुम्बिनी प्रदेशमा माओवादीका पूर्णबहादुर घर्ती सभामुख हुुनुहुन्छ।

मुख्यमन्त्री पोखरेललाई हटाउनका लागि बहुमत पुर्‍याउन एमाले बाहेकका कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सबै एकठाउँमा उभिनुपर्ने हुन्छ।