चीनले अनुदानमा दिएको  ८ लाख डोज कोरोना भ्याक्सिन आज आइपुग्दै

उत्तरी छिमेकी चीनले अनुदानमा दिएको  ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको छ।  भ्याक्सिन ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ।

सरकारको निर्णयअनुसार कोभिड-१९ को भ्याक्सिनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीन गएको हो।

उक्त जहाजले सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ। सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ  गएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं-बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको छ।

सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप आन्तरिक तयारी पूरा भएको निगमले उल्लेख गरेको छ।

निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घन्टा पाँच मिनेट रहनेछ। निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो। निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।