काठमाडौं – सरकारले कोभिड १९ विरुद्धको खोप आयातका लागि निजी क्षेत्रलाई समेत अनुमति दिने तयारी थालेको छ ।
हालसम्म भारत सरकारले अनुदान दिएको, कोभ्याक्स कार्यक्रममार्फत् आएको र सरकारको तर्फबाट खरिद गरिरहेको खोप अब भने निजी कम्पनीलाई समेत आयातका लागि अनुमति दिइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत जनसंख्यालाई सरकारले नै खोप खरिद गरेर निःशुल्क उपलब्ध गराउने तर निजी क्षेत्र इच्छुक र योग्य भएमा उनीहरुलाई आयातको बाटो मात्रै खुला गरेको जनाएको छ ।
अब खोप लगाउन शुल्क तिर्नुपर्ने हो ?
औषधि व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै कोभिड १९ विरुद्धको खोप आयातका लागि इच्छुक तथा योग्य कम्पनीहरुलाई अुनमितका लागि दर्ता हुन आह्वान गरेको छ । सबै शुल्क कटाएर बढीमा १० प्रतिशत मुनाफा राख्न पाउनेगरी निजी क्षेत्रले खोप ल्याउन पाउने सूचनामा उल्लेख छ ।यसअघि पनि सरकारले निजी क्षेत्रलाई खोप आयातको अनुमति दिन सकिने जनाउँदै आएको थियो।
“निजी क्षेत्रलाई आयात अुनमति दिनुको अर्थ नागरिकलाई खोप किनेर लगाउनू भन्न खोजिएको होइन,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, “सरकारले निजी क्षेत्रले ल्याएको खोप खरिद गर्दैन र आधारभूत जनसंख्यालाई निःशुल्क खोप उपलब्ध गराउँछ । अहिलेलाई निजी क्षेत्रलाई आयातको बाटो खुला गरेको भन्ने मात्रै बुझे हुन्छ ।”
औषधि व्यवस्था विभागले ‘निजी क्षेत्रलाई आयात गर्न दिने वैधानिकता दिएको तर बिक्री तथा वितरणका लागि हालसम्म कुनै प्रोटोकल नबनेको’ प्रवक्ता सन्तोष केसीको भनाइ छ । “नागरिकले खोप किनेर लगाउने भन्ने बिषय उठेको छैन, निजी क्षेत्रबाट वितरण गर्न सरकारले छुट्टै प्रोटोकल बनाउनुपर्छ अहिलेसम्म त्यो प्रक्रिया थालिएको छैन,” केसीले भने ।
सरकारको तथ्यांकअनुसार नेपालको ७२ प्रतिशत जनसंख्या कोभिड १९ विरुद्धको खोप लगाउने सूचीमा छन् । जसमध्ये २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्स कार्यक्रममार्फत् उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनले प्रतिवद्धता जनाएको छ । बाँकी जनसंख्यालाई क्रमश निःशुल्क खोप उपलब्ध गराउँदै जाने र असारसम्म सबै नागरिकलाई खोप दिइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउँदै आएका छन् ।
अहिलेसम्म कहाँबाट कति खोप आयो ?
भारत सरकारको अनुदानमा नेपालमा कोभिड १९ विरुद्धको पहिलो खोप कोभिशिल्ड माघ ८ गते ल्याइएको थियो । १० लाख डोज खोप अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, शव बहान तथा एम्बुलेन्स चालक, स्वास्थ्य स्वयम्सेवक, वृद्धाश्रममा खटिएका कर्मचारी तथा सञ्चारकर्मीलाई दिइएको थियो ।
कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा ४ लाख ३० हजारलाई दिने सरकारको लक्ष्यअनुरुप ४ लाख २९ हजार ७०५ जनालाई खोप दिइएको थियो ।
यो अभियान नसकिँदै सरकारले भारत सरकारसँग २० लाख डोज खोप खरिद गर्ने जनाएको थियो ।
सोही योजनाअनुसार भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिशिल्ड खोप खरिद गर्नेगरी रकम भुक्तानी गरिएको थियो ।
फागुन ९ गते सिरमले नेपाललाई १० लाख डोज पठायो । नेपाल सरकारले सिरमलाई २० लाख डोजको शत प्रतिशत शुल्क भुक्तानी गरिसकेको भए पनि थप १० लाख डोज खोप अहिलेसम्म पठाएको छैन ।
सिरमले विश्व बजारमा नै खोप निर्यात गरिरहेको र कोभ्याक्सलाई समेत खोप उपलब्ध गराउनुपर्ने भएकाले नेपालमा थप १० लाख डोज खोप पठाउन ढिलाइ भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतम बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले २२ लाख ५६ हजार डोज खोप निःशुल्क पाउनेछ । त्यसमध्ये ३ लाख ४८ हजार डोज खोप नेपाल आइसकेको छ ।
योसहित नेपालमा अहिलेसम्म कोभिड १९ विरुद्धको २३ लाख ४८ हजार डोज खोप भित्रिइसकेको छ । जसमध्ये चैत १ गतेसम्म ज्येष्ठ नागरिक र सार्वजनिक सेवा प्रदायक, कर्मचारी शिक्षक, गरी १५ लाखभन्दा बढीले खोप लगाइसकेको मन्त्रालयको तथ्यांक छ ।
केन्द्रीय केल्डचेन टेकुमा अहिले १ लाख ३५ हजार डोज खोप भण्डारण रहेको र बाँकी सबै खोप प्रदेशमा पठाइसकिएको स्वास्थ्य सेवा विभागअन्तरगत् आपूर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए । कूल डोजमध्ये बढीमा ३ प्रतिशत खोप भने खेर जानसक्ने ढुंगानाको भनाइ छ ।