शिवालयमा जलवायु परिवर्तन सहयोग कार्यक्रम प्रभावकारी बन्दै

जाजरकोट– जाजकोटका तीन स्थानीय तहमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालय तथा दातृ निकाय बेलायत सरकार र मोट म्याक्डोनाल्डको प्राविधिक सहयोगमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम(एनसिसिएसपि) प्रभावकारी बन्दै गएको हो ।

जाजरकोट जिल्लाका तीन स्थानीय तह नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिकामा सो कार्यक्रम लागू भएको छ । शिवालयमा लागु कार्यक्रम अन्तर्गत शिवालय गाउँपालिका वडा नम्बर ६ काउली सल्लेरी खानेपानी योजना सम्पन्न हुदैछ ।

योजनाको लक्ष्य करिब ८० घरधुरीलाई सफा खानेपानीको ब्यबस्था गर्नु हो । वडा नम्बर ५ र ६ बडाखेत सिचाइ कुलो निर्माण हुदैछ । १.०८५ किलोमीटर लम्बाई रहेको उक्त कुलोले स्थानीय बासिन्दाहरु लाभान्वित हुने भएका छन् । सिंचाइको अभावमा उत्पादनमा ह्रास आएको र प्रयाप्त मात्रामा खेतीपाती नभएको कारण पलायनको अबस्थामा पुगेका कृषकहरु हर्षित भएका छन् ।

त्यस्तै १.०७५ किलोमीटर लामो टुनि बगर सिंचाइ आयोजना निर्माण सम्पन्न हुदैछ । शिवालय गाउँपालिका भित्र १ करोड १० लाख सिंचाइतर्फ र ५५ लाख २५ हजार ८ सय बराबर खानेपानीमा लगानी गरेको जलवायु परिवर्तन कार्यक्रम संयोजक सन्दिब कायस्थाले बताएका छन् ।
आयोजनाको बारेमा गाउँपालिका र दातृ निकायले स्थलगत अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाही र जलवायु परिवर्तन सहयोग कार्यक्रमका (एनसिसिएसपि) कार्यक्रम संयोजक सन्दीप कायस्था लगाएतको टोलिले स्थलगत अनुगमन गरेको छ ।