मजबुत शान्ती सुरक्षाका लागि योजनाबद्ध भएर खटिदै इप्रका कोहलपुर : डिएसपी खनाल

२०३८ सालमा बुवा पूर्णप्रसाद खनाल र आमा भावना खनालको कोखबाट जन्मिएका रविन्द्र खनालको जन्म धादिङको सिद्धलेक गाउँपालिका २ मा भएको हो । घरको चौथो सन्तानको रुपमा जन्मिएका उनी सबै परिवारको प्रीय थिए । जीवन संघर्षको क्रममा उतारचडावकाबिच निरन्तर संघर्ष गर्दै अघिबढेका खनाल हाल इलाका प्रहरी कार्यालय कोहोलपुर बाँकेमा कार्यरत छन् । करिब दुई महिना अघिमात्रै कार्यभार सम्हालेका उनी प्रहरी प्रमुख डिएसपी पदमा कार्यरत छन् । कोहलपुरमा कार्यभार सम्हालेपछि डिएसपी खनाल शान्ती सुरक्षा कायम गर्न लागिपरेका छन् । नेपाल सरकार र विद्यमान ऐन कानुनले दिएको जिम्मेवारी पुरा गर्दै आफ्नो क्षेत्रमा शान्ती सुरक्षा कायम राख्ने उनको लक्ष्य छ । ईलाका प्रहरी प्रमुख रबिन्द्र खनाल आएपछि पछिल्लो समय अबैध मालसामान सहित गिरोहहरु पक्राउ गर्ने क्रम बढेको छ । यसैबिच उनीसँग गरिएको कुराकानी सारांश ।

रविन्द्र खनाल, प्रहरी नायव उपरिक्षक (डिएसपी) इलाका प्रहरी कार्यालय कोहोलपुर बाँके ।

तपाई नेपाल प्रहरीको सेवामा प्रवेश गरेको कती भयो ?
मैले नेपाल प्रहरीको सेवामा प्रवेश गरेको १४ वर्ष पुरा भयो । म सेवा परिवर्र्तन गरेर नेपाल प्रहरीमा प्रवेश गरेको हँ । सेवा प्रवेश गर्नु पहिले म शिक्षक पेशामा आबद्ध थिए । जागिर खोजेर फेला पारेको नभई आफ्नै चाहानाले म नेपाल प्रहरीमा प्रवेश गरेको हुँ ।

प्रहरी सेवामा प्रवेश गर्नु पहिलेको सोचाई र काम गर्दाको अनुभव कस्तो रह्यो ?
प्रहरी सेवामा प्रवेश गर्नु पहिले शिक्षक पेशाको जस्तै एउटै कुराको तयारी गरे हुन्छ भन्ने लागेको थियो । प्रहरी सेवामा प्रवेश गरीसकेपछि घटना पिच्छे फरक फरक कानुनी प्रक्रियाहरु, पोलीसी र अपराध पिच्छे फरक फरक अनुसान्धान, टेक्निकल कुराहरु लगाएत धेरै फरक शैली अपनाउनु पर्ने रहेछ । सोचे जस्तो काम गर्न सजिलो त हुदैन । तर काम गर्दा रमाइलै महशुस हुन्छ ।

पछिल्लो समय नागरिकले प्रहरी प्रतिको विश्वास कत्तिको गर्छन् ?
यसमा दुईवटा कुराले प्रभाव पारिरहेको हुन्छ । कतिपय अवस्थामा धेरै काम गर्दा कम जस पाइन्छ भने कतिपय अवस्थामा थोरै मेहनत गर्दा पनि धेरै विश्वास पाईन्छ । यो आम नागरिकले महशुष गर्ने पक्ष हो । तर प्रहरीले आफ्नो कामको स्पिड कतै कम गर्न हुदैन । प्रहरी आफ्नो सेवाप्रति गम्भिर छ । नागरिकले पनि विकृती अन्त्यका लागि प्रहरीसँग हातेमालो गरेर काम गर्न जरुरी छ ।

अँझै सेवालाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?
पहिलो कुरा त पेशाप्रतिको प्रतिबद्धता र पेशाप्रतिको उत्तरदायित्व वहन गर्नुपर्दछ । सेवा प्रवाहका लागि आवश्यक स्रोत साधन बढाउनु पर्छ । यसका साथै तलब, भक्ता, रासन जस्ता कुरामा पनि जोड दिनपर्ने हुनसक्छ । टेक्निोलोजी र मानविय पक्षलाई कसरी हेन्डिल गर्ने ? अनुसन्धान पद्धतिलाई कसरी राम्रो बनाउने ? र पब्लिक रिलेशनको पक्षलाई कसरी बलियो बनाउने ? भन्ने कुरामा जोडदिनु पर्ने देखिन्छ । साथै काम गर्न थप उत्प्रेरणा कसरी मिल्छ त्यसमा जोड दिनसकियो भने अझै प्रहरीको सेवा प्रभावकारी बन्ने देखिन्छ ।

अहिले बाँकेको सुरक्षा अवस्था कस्तो छ ?
अहिले यहाँको शान्ती सुरक्षा मजबुत छ । तर पनि बाँके जिल्लाको कोहलपुर क्षेत्र स्वभाविक रुपले पुर्वपश्चिम राजमार्ग हो । विभिन्न जिल्लामा आवत जावत गर्ने तथा भारत लगाएत बाहिर जानेबाटो पर्ने भएकाले र विभिन्न जिल्लाको मानिसहरु व्यापारको शिलशिलामा आउने हुदाँ मानिसहरुको उठबस बाक्लै हुने गर्छ । त्यसलाई मुल्याङकन गरेर सुरक्षा सुदृढिकरण गर्ने योजना छ । निम्तिनसक्ने संभावित अपराध नियन्त्रणको बारेमा योजना बनाउने लगाएतका कामहरु भइरहेका छन् । सोही अनुसार यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हिंसात्मक घटना न्युनिकरणका लागि थप रणनीति केही छन् ?
यसमा एक वर्षकै योजना बनाएको छुँ । भएका पक्षलाई प्रभावकरी बनाउने र नभएका पक्षलाई थप मजबुद बनाउने योजना छन् । यहाँ धेरै सडक दुर्घटना भएको देखिन्छ । दुर्घटना पश्चात मानिसको भिडभाड धेरै हुने, आक्रोसीत भई अपराधिक घटना घट्नसक्ने, तोड्फोड गर्ने जस्ता कार्य हुनेभएकाले तुरन्तै त्यसको सुरक्षा तथा जोखिम नियन्त्रण कसरी गर्ने ? भन्नेबारे आकस्मिक सहायता सुरक्षा योजना बनाएको छुँ । यो सडक दुर्घटनासँग सम्बन्धित योजना हो । यस्तै वन्यजन्तु, लागुऔषध चोरी सिकारी तथा ओसारपोसार सम्बन्धि कडा सुरक्षा योजना छ । त्यस्तै समाजमा कस्ता खालका समस्या देखा पर्छन् त्यसअननुसार योजना बनाउने कुरा जारी नै छन् । कतिपय अपराधिक धरातल हेरेर तत्काल योजना बनाउनु पर्नेहुन्छ । साथै प्रहरी कार्ययोजना २०७७ मा उल्लेख भएका पक्षहरुलाई अवलम्बन गरी काम गर्ने रणनीतिमा छुँ ।

काममा कुनै प्रलोभन तथा राजनैतिक दवाब आउछ की नाई ? अनी सबै उजुरीकर्ताले न्याय पाउँछन् त ?
प्रलोभन भनेर व्याख्या गर्न त मिल्दैन । तर कतै आफ्ना मान्छेको गल्तिनै छैन की ? प्रहरीले त्यसै पेलेको छ की ? राम्रो अनुसन्धान गरिदिनु प¥यो भन्नेखालका नागरिक प्रतिक्रिया आउने गर्छन् । हालसम्म कसैबाट अनावश्यक दवाब आएको पनि छैन । यहाँको मुख्य समस्या लागुऔषध नै हो । यसको उजुरी आउदैन । प्रहरीले आफै अनुसन्धान गरेर पत्ता लगाउने हो । साथै महिलासँग सम्बन्धित जस्तै बलात्कार, घरेलु हिंसा, अर्काकी श्रीमती छोरी भगायो भन्ने खालका उजुरीहरु जो जगन्य अपराधदेखि सामान्य अपराधसम्मका उजुरी आउने गर्छन् । त्यस्तै आत्महत्या दुरुसाहन, अभद्र व्यबहार लगाएतका उजुरीहरु आउने गरेका छन् । र न्यायको कुरा गर्नुभएको छ । अवश्य पनि कसैले न्याय पाउदैनन् भन्ने नै हुदैन । तर न्याय अनुभव पनि हो । प्रयाप्त प्रमाण, परिस्थितिजन्य कुराहरु लगाएत धेरे कुराको अनुसन्धान गरेर न्याय सम्पादन गर्नुपर्ने हुन्छ । हामीले अनुसन्धानको कलम बलियो बनायौं भने कसैले पनि न्याए नपाउने भन्ने हुदैन । तर अनुसन्धानकर्ताले फाईल पंक्तिबद्ध र लिपिबद्ध बनाउनपर्छ । सोही अनुसार कर्तव्य र जिम्मेवारी पालना गरिरहेका छौं ।

अन्त्यमा, तपाईं कोहलपुर रहन्जेलसम्म गर्नैपर्ने केही बाँकी योजना छन् ?
नेपाल प्रहरी कार्ययोजना २०७७ को मर्म र जिल्ला प्रहरी कार्यालयले दिएको निर्देशनलाई कार्यान्वयन गर्ने मुलभुत योजना नै हो । साथै यो क्षेत्रमा देखिएको  लागुऔषधको समस्या, चेलीबेटी तथा बालबालिका हराउने अथवा बेचिनसक्ने जस्ता अपराधिक घटना निषेद गराउने कार्ययोजना ल्याएर नेपाल प्रहरीको कार्ययोजना २०७७ लाई सपोर्ट हुने र थप बलपुग्ने गरी योजना बनाउने रणनीति छ । आफ्नो मातहतको सबै ठाउँमा प्रतिक्षालय जस्ता प्रहरीले गर्नसक्ने साना साना कुराहरु गर्ने योजना छ । म यहाँको शान्ती सुरक्षा कायम गर्न प्रतिबद्ध छुँ । यसका लागि आवश्यक सल्लाह सबै निकाय र क्षेत्रसँग गरिनेछ ।  प्रस्तुति :चन्दा कँडेल !