गाँजासम्बन्धी ऐतिहासिक विधेयक पारित गर्‍यो मेक्सिकोको संसदले

ल्याटिन अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोगसम्बन्धी एउटा ऐतिहासिक विधेयक पारित गरेको छ।

हाउस अफ कंग्रेसले बुधबार पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन।

उक्त विधेयकले मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई खुला गरेपछि मेक्सिको गाँजाको विश्वकै ठूलो बजार बन्ने भएको छ।

राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओर्बाडोरको प्रशासनले ल्याएको उक्त विधेयकलाई तल्लो सदनका सांसदहरूले ३१६ मतसहित पारित गरेका हुन्। उक्त विधेयक पारित गर्न हुन्न भन्ने पक्षमा १२७ सांसद थिए। अब माथिल्लो सदन सिनेटले पनि विधेयक पारित गरे यसले कानुनको रूप लिनेछ र लागू हुने छ। सिनेटमा पनि सत्तारूढ पार्टीको बहुमत भएकाले विधेयक सहजै पारित हुने विश्वास गरिएको छ।

उक्त विधेयकले गाँजाका पाँच प्रकारका लाइसेन्स दिने व्यवस्था गरेको छस् गाँजाको खेती, त्यसबाट गाँजा बनाउने, बेच्ने, अनुसन्धान गर्ने र आयात(निर्यात गर्ने। १८ वर्ष माथिका मानिसरूले मात्र गाँजाको प्रयोगसम्बन्धी यस्तो लाइसेन्स पाउनेछन्।

आज हामीले इतिहास बनाइरहेका छौं,’ गाँजाको पातअंकित मास्क लगाएका सत्तारूढ मोरेना पार्टीका एक सांसदले भने,योसँगै मेक्सिकोको गाँजा स्वास्थ्यका लागि हानिकारक छ भन्ने गलत सोचाइको पनि अन्त्य भएको छ।

राष्ट्रपति ओर्बाडोरले गाँजालगायत अन्य नशालु पदार्थलाई कानुनी बनाएपछि शक्तिशाली ड्रग कार्टेल्ससँग लड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सन् २०१३ मा अर्को दक्षिण अमेरिकी मुलुक उरूग्वेले गाँजाको उत्पादन र वितरणलाई कानुनी हैसियत दिएको थियो। यो क्षेत्रका अन्य मुलुकहरू अर्जेन्टिना, चिली, कोलम्बिया र पेरूले गाँजाको मेडिकल प्रयोगका लागि अनुमति दिएका छन्।

सन् २०१८मा क्यानडाले पनि गाँजाको प्रयोगलाई अनुमति दिएको थियो।