ओलीलाई प्रधानमन्त्रीबाट बिदाइ गर्ने मुडमा देउवा

नेपाली कांग्रेसले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गरेको छ।

सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपर्युक्त समय बल्ल आएको बताउन थालेका छन्।

यसअघि प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजान साथ खोज्दा देउवाले नेकपा फुटेकै छैन भन्ने अडान राखेका थिए।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको ठहर गर्दै नेकपा एमालेर नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि यो मौका छोप्ने दाउमा देउवा छन्।

देउवाले आफ्नै नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादीलाई विश्वासमा लिएर नयाँ सरकार बनाउन गृहकार्य थालेका छन्।

‘दुई तिहाइ नजिकको सरकार चलाउन पाए पनि ओलीले राम्रा काम गरेनन्। जनमतको कदर गर्न सकेनन्। असंवैधानिक काम गर्दै गए। संविधान कुल्चिए, असंवैधानिक तरिकाले अध्यादेशहरू ल्याए। अब कांग्रेस संसदमा रहेका दलसँग परामर्श गरेर प्रधानमन्त्रीबाट ओलीलाई बिदाइ गर्ने बाटोमा जान्छ,’ सभापति देउवानिकट एक शीर्ष नेताले सेतोपाटीसँग भने।

ती नेताका अनुसार अब कांग्रेसले संसदमा रहेका दलसँग कति सांसद छन् भन्ने अंकगणित हेर्छ। त्यसपछि ठोस निर्णय गरेर जाने पक्षमा कांग्रेस छ।

‘माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग उहाँले अब परामर्श थाल्नुहुन्छ,’ ती नेता भन्छन्, ‘पार्टीभित्र पनि छलफल गरेर एकढिक्का भएर कांग्रेसले अब सरकारको नेतृत्व गर्ने भन्ने छ।’

संसदमा कांग्रेसका ६३ सांसद छन्। तर उपसभापतिसमेत रहेका विजयकुमार गच्छदार र सांसद मोहम्मद अफताब आलम निलम्बनमा छन्। यो अवस्थामा कांग्रेससँग अब ६१ सांसद छन्।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको संसदको तेस्रो दल माओवादी केन्द्रका ५३ सांसद छन्। यीमध्ये अग्निप्रसाद सापकोटा सभामुख छन्। ५२ सांसदमध्ये चार जना प्रधानमन्त्री ओलीतिर छन्। अहिले मन्त्री रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी फर्केनन् भने माओवादी केन्द्रसँग ४८ जना सांसद हुनेछन्।

यस्तै समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टीमा ३४ सांसद छन्। यीमध्ये पप्पु यादव र रेशम चौधरी निलम्बनमा छन्। अब जसपासँग ३२ सांसद छन्।

कांग्रेसको ६१, माओवादी केन्द्रको तत्काल देखिएका ४८ र जसपाका ३२ जना सांसद गठबन्धनमा आए भने १४१ सांसद संख्या पुग्छ। यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ। बहुमतको सरकार बनाउन संसदमा १३८ जना सांसद चाहिन्छ।

देउवा लागि आफू प्रधानमन्त्री हुने यो उपर्युक्त समय हो। भदौमा कांग्रेसको १४ औं महाधिवेशन छ। महाधिवेशनअगाडि नै प्रधानमन्त्री हुन सके उनले आफ्नो प्रभाव महाधिवेशनसम्म कायम राख्न सक्छन्।

#सेतोपाटि