जसपा संसदीय दलको बैठक आज बस्दै, अब कस्तो भूमिकामा हुने भन्नेबारे छलफल हुने

काठमाडौं – पछिल्लो राजनीतिक अवस्थापछि प्रतिनिधिसभामा पार्टीको भूमिकाबारे छलफल गर्न जनता समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ।

प्रतिनिधिसभा पुनर्स्थापना र त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बारे सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिबारे छलफल गर्न संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो १ बजे बोलाएको हो।

नेकपाबारे सर्वोच्चले गरेको पछिल्लो फैसलाले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण खारेज भएपछि दुवै पार्टी पूर्वपार्टीकै अस्तित्वमा गएका बेला अब जसपा कस्तो भूमिकामा हुने भन्नेबारे बैठकमा छलफल हुने नेता प्रमोद साहले बताए।

सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई गठबन्धन सरकारका रुपमा परिभाषित गरेपछि अब सत्ता समीकरण फेरिन सक्ने भएकाले जसपा सरकारमा जाने वा नजाने, कसलाई सहयोग गर्ने÷नगर्ने विषयमा बैठकमा छलफल गरिने उनले बताए। बैठकमा भोलि बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफल गरिने बताइएको छ।