सल्यानमा उत्पादकत्व वृद्धि गर्न कृषि औजार वितरण

 सल्यान -कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सल्यानमा किसानहरुलाई कृषि औजार वितरण गरिएको छ । कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले जिल्लामा कृषि औजार वितरण गरिएको हो ।
किसानलाई खेती गर्न सहज होस भनेर ५० प्रतिशत अनुदानमा हाते ट्याकटर, सिचाई ट्यांकी वितरण गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । उनले भने ‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो । काम गर्ने मान्छे पनि पाउन सकिदैन । कृषि सरल र सहज बनाउन किसानहरुलाई कृषि औजार वितरण गरेका हौं ।’
कृषिमा यान्त्रिीकरण, व्यवसायिकरण र बजारीकरण गर्नु पर्ने भन्दै यसका लागि किसानहरुलाई सहयोग गरिएको उनको भनाई छ । तरकारी ब्लक र पकेट क्षेत्रका किसानहरुलाई ३१ वटा मिनि टेलर सहित सिचाई ट्यांकी ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले बताए । उनले भने ‘जिल्लामा तरकारीका चार वटा ब्लक रहेका छन् । ती मध्ये दुई वटा ब्लक र एक पकेट क्षेत्रमा कृषि औजार वितरण गरिएको छ ।’
कपुरकोट गाउँपालिका भित्रका रहेका दुई वटा तरकारी ब्लकमा २८ वटा र एक तरकारी पकेटमा ३ वटा ट्याक्टर सहित बिउ, एक हजार लिटरका सिँचाई ट्यांकी वितरण गरिएको आचार्यको भनाई छ ।
हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानहरुलाई आधुनिक कृषि प्रणालीमा जोड्न, खेतबारीमा सजिलै प्रयोग गर्न सकिने उनको भनाई छ ।