सल्यानमा थप पाँच जनाले जिते कोरोना

कोरोना जितेर घर फर्किनेको संख्या १५७ पुग्यो

सल्यान-सल्यानमा आइतबार थप पाँच जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् । आइसोलेसनमा उपचार गराई रहेका दुई कर्मचारी सहित पाँच जनाले कोरोना जितेका हुन । यो सँगै सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १ सय ५७ पुगेको छ ।
स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार लुहापिङ आइसोलेसनमा उपचार गराइरहेका दार्मा गाउँपालिकाका पाँच जनाको पछिल्लो स्वाबको रिर्पोट नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ ।
एक हप्ता होम क्वारेनटाइनमा बस्ने गरी उनीहरुलाई घर पठाइएको पुनको भनाई छ । कोरोना भाइरसबाट निको भएका दुई जना दार्मा गाउँपालिकाका कर्मचारी हुन भने तीन जना भारतबाट आइ क्वारेनटाइनमा बसेका नागरिक हुन ।
सल्यान अस्पतालबाट ८ जना , आइसोलेसन कक्ष लुहापिङबाट १ सय २२, प्रदेश अस्पताल सुर्खेतबाट १३ र मिसन अस्पताल चौरजहारीबाट ११ जना निको भएर घर फर्कि सकेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
सल्यानमा हालसम्म २ सय ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।