राष्ट्रपतिलाई नेकपाका तीन नेताले भने- महाअभियोग बालुवाटारबाट फैलाइएको अफवाह हो

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित तीन नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने कुनै योजना नभएको बताएका छन्।

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदका सदस्यहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

राष्ट्रपति भण्डारीलाई भेटेर आएका प्रधानमन्त्री ओलीले आफूसँगै राष्ट्रपतिलाई पनि हटाउन लागेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको राजीनामा मागिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

राष्ट्रपति भण्डारीसँग नेताहरूले झन्डै ४५ मिनेट कुराकानी गरेका थिए।

कुराकानीका क्रममा तीनै नेताले राष्ट्रपतिमाथि महाअभियोग लगाउने कुनै योजना नरहेको बताए।

‘राष्ट्रपतिलाई महाभियोग लगाइँदैछ भनेर आएका हल्लाहरू अफवाह हुन्। हामीले कुनै योजना बनाएका छैनौं भनेर नेताहरूले भन्नुभएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले  भने,’पार्टीभित्रको आन्तरिक विषयलाई हामीले राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई जोडेको छैनौं भनेरसमेत उहाँहरूले भन्नुभएको छ।’

राष्ट्रपतिसँग तीन नेताले प्रधानमन्त्री ओलीले चाल्ने असंवैधानिक कदमलाई साथ नदिन पनि आग्रह गरेका थिए।

राष्ट्रपतिसँगको भेटपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार गएका छन्।setopati.com