तातोपानी गाउँपालिकाद्वारा स्वास्थ्य परीक्षणसहित अपाङ्ग परिचयपत्र वितरण

जुम्ला – तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य चेकजाँच देखि अपाङ्ग परिचयपत्र वितरण गरेको छ । अपाङ्ग व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै पहिलोपटक तातोपानीको दुर्गम क्षेत्र लामाबगरमै पुगेर गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्याय, ६ नम्बर वडाध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धिताल, लेखा अधिकृत मिलन बुढाथापा र डाक्टर अरुण श्रेष्ठ सहितको टोलीले अपांग परिचयपत्र तथा स्वास्थ्य जाँच गरेको हो ।

परिचयपत्र नविकरण गराउन, नयाँ लिन एकदिन बास बस्नु पर्ने समस्या, स्वास्थ्य चौकी सम्म पुगेर स्वास्थ्य जाँच गराउन नसक्ने विशेष खालका अपाङ्ग व्यक्तिहरुको राहतका लागि घरदैलोमै पुगेर परिचय पत्र वितरणका साथै स्वास्थ्य जाँच गरिएको उपाध्यक्ष गंगादेवि उपाध्यायले बताइन। उनका अनुसार तातोपानी गाउँपालिका ७ स्थित दुर्गमबस्ती लामाबगर पुगेर त्यहाँका ११ जना अपांग व्यक्तिको परिचय पत्र नविकरण, नयाँ उपलब्ध तथा स्वास्थ्य जाँच गरिएको छ ।

जसमा (क) वर्गका ३ जना, (ख) वर्गका ७ र (ग) वर्गको १ जनालाई गरी ११ जनालाई परिचयपत्र उपलब्ध गराइएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले जानकारी दिए । साथै, अपाङ्ग व्यक्तिको स्वास्थ्य जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाका डाक्टर अरुण श्रेष्ठलाई समेत गाउँमा लिइएको छ ।

गाउँमै पुगेर संचालन गरिएको घुम्ती शिविर मार्फत डाक्टर श्रेष्ठले स्वास्थ्य जाँच गरे । तातोपानी गाउँपालिकाका सबैभन्दा दुर्गममा रहेका ७ र ८ नम्बर वडाका ताम्ती, टोल्पा, सर्मी, बारगाउँ, सुर्की लगायतका बस्तीका अपांग व्यक्तिलाई घरदैलोमै पुगेर नियमित स्वास्थ्य जाँच देखि परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको जनाएको छ ।