भारतमा  ज्येष्ठ नागरिक र दीर्घरोगीलाई  आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

भारतमा  ज्येष्ठ नागरिक र दीर्घरोगीलाई  आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै छ

देशभर सुरु हुन लागेको दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणको अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकोमा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ ।

यसका लागि एक डोजका लागि नागरिकले २५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ । भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप निस्शुल्क लगाउन पाइनेछ ।

आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा ६० वर्षमाथिका सबै मानिस झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी रहेको छ । आउँदो जुलाई महिनासम्ममा भारतले ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।

गएको जनवरी १६ तारिखमा भारतमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।