२६ नेपाली महिला श्रीलंका जेलमा ,अनुसन्धान हुन भने बाँकी

संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेका बताए ।

उनका अनुसार जेलमा रहेका माथि अध्यागमन नियम उल्लंघन लगायत विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

प्रवक्ता निरौलाले मन्त्रालय अन्तरगतको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्नेबित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च व्यहोर्ने निर्णय गरिसकेको बताए ।

उनका अनुसार एक वर्षयता विभिन्न जेलमा रहेको बुझिए पनि उनीहरु कसरी त्यहाँ पुगे, कसले पुर्यायो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ ।

स्थलमार्ग हुँदै भारतका विभिन्न सहरबाट अवैध रुपमा खाडीका देश पुर्याएर आकर्षक जागिर मिलाइदिने आश्वासनमा श्रीलंका पुर्याएर अलपत्र पार्ने मानव बेचबिखनको शैली नयाँ होइन । (कान्तिपुर दैनिक)