महिनै बितिसक्दा पनि रिपोर्ट नआए पछि क्यारेन्टाइनबाट भागे

सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेन्टाइनबाट ७० जना भागेका छन् । क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि पिसिआर रिर्पोट नआएको भन्दै उनिहरु क्वारेन्टाइनबाट भागेका हुन् ।
बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्वर ३ स्थीत आधारभुत विद्यालय लहाघाटमा बसेका ७३ जना मध्ये ७० जना भागेर घर गएका हुन । उनिहरुले प्रहरीहरुलाई ढुंगामुढा गरेर त्यहाँबाट भागेको नगरपालिकाका मेयर गोविन्द कुमार पुनले जानकारी दिए । उनिहरु जेठ १९ गतेदेखि सोहि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनिहरु क्वारेन्टाइनमा बसेको १७ दिनपछि श्वाव संकलन गरि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । पहिले आरडिटि गरेर पोजेटिभ देखिएकाको पिसिआर गर्दा पोजेटिभ देखिएपछि उनिहरुकेको पनि पिसिआर परिक्षणका लागी श्वाव संकलन गरिएको थियो ।
तर एक महिना सम्म आफुहरु क्वारेन्टाइनमै बस्नुपरेको र रिर्पोट नआएको भन्दै उनिहरु क्वारेन्टाइनबाट भागेका हुन । मेयर पुनले सुर्खेत पठाएको श्वाव त्यहाँ मेसिन विग्रीएपछि नेपालगंज पठाइएको र नेपालगंजले पनि आजभोली भन्दै टारेकोले समस्या भएको बताए ।
उनले प्रदेश सरकारले एउटा गतिलो पिसिआर व्यवस्थापन गर्न नसक्दा आफुहरुले कोरोना रोकथाममा सास्ती खेप्नु परेको जनाएकाछन् । प्रदेश सरकारले यसबारे ध्यान दिएको छैन उनले भने, आफुहरुले क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनमा रातदिन खटिदा पनि गालि खानुपरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकामा मात्रै यस अवधिमा भारतबाट आएका झण्डै २५ सय नागरिकहरुको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको थियो । तर अहिले क्वारेन्टाइनमा १ सय को हाराहारिमा मात्रै मानिसहरु रहेका छन । क्वारेन्टाइबाट भागेकाहरुकाके खोजि भैरहेको मेयर पुनले जानकारी दिए।