बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना

जनकपुर – प्रदेश २ को बारा जिल्लामा मास्क नलगाउनेले जरिवाना तिर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको हो । बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु तथा पैदल यात्रीलाई समेत मास्क अनिवार्य गरिएको छ । मास्क नलगाए सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । यो नियम असार १९ गते शुक्रबारदेखि लागू हुने प्रशासनको सूचनामा उल्लेख छ । संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार प्रशासनले मास्क नलगाउनेलाई जरिवाना लगाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार ३ दिन सचेतना अभियान चलाएपछि यो नियम लगाइने छ । लकडाउन खुला भएको मौका छोपेर मानिसहरु मास्क नलगाई हिँड्न थालेपछि प्रशासनले यो कदम चालेको हो । कोरोना भाइरसका कारण बारामा दुई जनाको मृत्यु भएको छ भने १९ जना संक्रमित अहिले आइसोसनमा छन् । त्यसै, १९१ जना मानिस क्वारेन्टाइनमा छन् ।