इच्छा विपरित जर्वजस्ती सरुवा गर्न खोजेको शिक्षकको गुनासो

मुगु – मुगुको उत्तरी सोरु गाउँपालिका–१० धैनको जगतमाला माद्यामिक विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो इच्छा विपरित विद्यालय व्यवस्थापन समितिले जर्वजस्ती अर्को विद्यालयमा सरुवा गर्न खोजेको गुनासो गरेका छन्।

आफ्नो इच्छा विपरित स्थानीय शिक्षकको दबाबमा विद्यालय व्यवस्थापन समिति र सोरु गाउँपालिका शिक्षा समन्वय शाखाले जर्वजस्ती अन्य सरुवा गर्न खोजेको शिक्षक बसन्तराज कडेलले गुनासो गरे।

२०६४ सालदेखि सो विद्यालयमा कार्यरत बर्दिया घर भएका शिक्षक कडेललाई खत्याड गाउँपालिकाको पञ्चदर्यो माविमा सरुवा गर्न खोजिएको उनको गुनासो छ।
पञ्चदर्योमा कार्यरत नरजित मल्ललाई जगतमालामा सरुवा गर्न खोजिएको बुझिएको छ। सरुवाका लागि दुबै शिक्षकको सहमति अनिवार्य चाहिने कानुनी व्यवस्था छ। मल्ल स्थानीय शिक्षक भएकाले उनकै दबाबमा विव्यस देखि गाउँपालिका शिक्षा शाखाले ऐनविपरित आफ्नो सरुवा गर्न खोजिएको कडेलले गुनासो गरे।

कडेलको सरुवाका लागि विव्यसले निर्णय गरेर शिक्षा शाखामार्फत फाइल जिल्ला शिक्षा समन्वय इकाइमा पुगेको छ। आफूले सरुवा रोक्नको लागि पटकपटक लिखित र मौखिक दिँदा पनि वेवास्ता गर्दै विव्यसले माघ ३० गते एकलौटी निर्णय गरेको कडेलले बताए। जगतमालाका प्रधानाध्यापक डिल्लीराम सापकोटाले पनि शिक्षकको सहमतिविना विव्यसले एकलौटी निर्णय गरेको बताए। दरबन्दी खाली नहुँदा गरिएको निर्णय नियमसँग नभएको भन्दै सापकोटाले नियमअनुसार नभएकोबारे शिक्षा समन्वय इकाइले हेर्ने बताए।

सोरु गाउँपालिका शिक्षा अधिकृत निर्मल देवकोटाले शिक्षक सरुवाको आधिकारीक निकाय विव्यस भएकाले दुवै गाउँपालिका शिक्षा शाखाको अुमतिमा फाइल अगाडि बढेको बताए।​सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले शिक्षक सरुवाको चलखेल राजनीतिक कारण भएको बताए। नियमविपतिको सरुवाबारे आफूले शिक्षा समन्वय इकाइसँग बुझ्ने उनले जानकारी दिए।

जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख सुर्यबहादुर खत्रीले आफू काम विशेषले कार्यालय बाहिर रहेको बताए। उनले नियमविपरितको सवारु भए रद्द गरिने जानकारी दिए।