म्यान्मार आन्दोलन – जन्मदिनको २ दिनअघि गोली लागेकी युवतीको मृत्यु

एजेन्सी – म्यान्मारमा झन्डै एक साताअघि गोली लागेर घाइते भएकी एक आन्दोलनकारीको शुुक्रबार निधन भएको छ । म्या थवी थवी खाइङ नामकी यी युवतीलाई गत साता २० औं जन्मदिन प्रवेश गर्नुुभन्दा दुुई दिनअघि टाउकोमा गोली लागेको थियो । त्यसयता उनी गम्भिर अवस्थामा थिइन् ।

म्यान्मारमा अङ सान सुकीलाई नजरबन्द गर्दै उनको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले राज्यसत्ता हातमा लिएपछि अस्थिरता निम्तिएको छ । त्यसयता देशमा निरन्तर आन्दोलन चलिरहेको छ । ९ फेबु्रअरीमा भएको आन्दोलनका क्रममा खाइङलाई गोली लागेको हो ।

प्रहरीले प्रदर्शनकारीलाई तितर–बितर पार्ने क्रममा पहिले पानीको फोहोरा, त्यसपछि रबर बुलेट र अन्त्यमा गोली नै चलाएको थियो ।

खाइङलाई गोली लागेपछि प्रदर्शनकारीहरु स्तब्ध र आक्रोशित बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको मृत्युसँगै सैन्य अधिकारीहरुप्रति जनताको आक्रोश अझै बढेको छ । ‘म यस प्रणालीबाट हामी मुक्त नभएसम्म आन्दोलन गर्नका लागि सबै नागरिकहरुलाई अपिल गर्दछु,’ खाइङकी दिदी म्याथ था टोइ नुुईले पत्रकारहरुसँग भनेकी छिन्,‘मैले भन्न चाहेको यत्ति हो ।’