पर्वत – पर्वतको जलजला गाउँपालिकाका एक युवकले ढुंगाले हानेर श्रीमतीको हत्या गरेर आफैं प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन्। जलजला –४ स्थित लुङ्दी देवीस्थानका ३४ वर्षीय रामबहादुर नेपाली रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार हत्याको प्रमुख कारण दुवै जनाको नाममा रहेको संयुक्त जग्गा रहेको पाइएको छ। यद्यपि प्रहरी अनुसन्धानको क्रममा उनीहरू बीचमा केही समय पहिलेबाट नै सम्बन्धमा खटपट रहेको बताएको छ।
इन्स्पेक्टर श्रेष्ठका अनुसार माघ २७ गते मंगलबार उनीहरू जग्गाकै विषयमा कुराकानी गर्न वडा कार्यालयमा पुगेका थिए। कार्यालयबाट फर्किने क्रममा दिउँसो करिब साढे २ बजे रामबहादुरले श्रीमती सन्तु दर्लामीमाथि घर नजिकै रहेको धुले पाल्सिङ सामुदायिक वनको धैरेनी भन्ने ठाउँमा पुगेपछि टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको भनी रामबहादुरले प्रहरीमा बयान दिएका छन्।
श्रीमती हत्या गरेपछि उनी घटनास्थलबाट प्रहरी चौकी वारि बेनीमा पुगेर आत्मसमर्पण गरेका थिए। हत्या गरिएकी दर्लामी रामबहादुरकी दोस्री श्रीमती हुन् भने रामबहादुर पनि मृतकको दोस्रो श्रीमान् हुन्। सन्तुको पहिलो श्रीमानतर्फ दुई छोरा छन्।
रामबहादुरलाई बुधबार जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ। शवको पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ। – थाहाखबर ।