महिला स्वरोजगार तालिम कार्यक्रम सम्पन्न

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले संचालन गरेको महिला स्वरोजगार अटो रिक्सा तालिम समापन भएको छ । वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा लेकाली मोटर ड्राइभिङ्ग टे«निङ्ग सेन्टरले अटो रिक्सा चालकको तालिम दिएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाका टंकप्रसाद लामीछानेले भन्नुभयो, नगरपालिकाले अटो रिक्सा खरिदमा समेत २ लाख सहयोग दिने योजना रहेको छ जसका लागि सवारी चालक अनुमति पत्र भने अनिवार्य चाहिन्छ । त्यो २ लाख सहयोग गरेको रकम मध्य महिलाहरुले अटो चलाई कमाउन थालेपछि १ लाख नगरपालिकालाई फिर्ता गर्नु पर्ने र १ लाख भने अनुदानको रुपमा फिर्ता गर्नु पर्दैन।
महिला दिदीबहिनीहरु आत्मनिर्भर बन्न सकेको खण्डमा उनीहरुको दैनिकी फेरिनेमा आफू विश्वस्त रहेको उहाँको भनाई थियो । सीप मुलक तालिम लिनेहरुले केवल तालिम मात्र नसिकेको उहाँहरुको क्षमतामा समेत विकास भएको छ । बोल्ने, समाजमा घुलमिल हुनेदेखि आय आर्जनमा समेत सशक्तिकरण भएको लामिछानेले बताउनु भयो ।

लेकाली मोटर ड्राइभिङ्ग टे«निङ्ग सेन्टरले अहिलेसम्म ६० जनालाई तालिम दिइसकेको प्रो. खड्कबहादुर बोहोराले बताउनु भयो । यस पटक भने ११ जनाले तालिम लिएका छन् । तालिम लिनुभएकी सीता नेपालीले भन्नुभयो, ‘हामीले तालिम लिइसकेका छौ । हामी अटो चलाउन सक्षम छौ । वीरेन्द्रनगर नगरपालिकाले हामीलाई तालिम दिएर ठूलो गुण त लगायो अब अटोको व्यवस्थापन गरिदिएको भए आय आर्जन तर्फ लाग्ने थियौं । जसले हाम्रो लक्ष्य पूरा हुने थियो ।

यसैगरि मीना खत्रीले भन्नुभयो, ‘महिलाहरु तालिम तथा सीपको अभावमा पनि आत्मनिर्भर बन्न सकेका छैनन् । तर सीप र तालिम अनि स्रोत र साधन पाएमा महिलाहरु पनि कमजोर छैनन् भन्ने कुराको प्रमाणित अटो तालिमले नै गरेको छ ।’ अटो तालिम लिएपछि दैनिक रोजगारीको लागि कतै भौतारिनु नपर्ने जैपुरा विष्टले बताउनु भयो । लेकाली मोटर ड्राइभिङ्ग टे«निङ्ग सेन्टरका प्रो. बोहोराले भन्नुभयो, हामीले केवल व्यावसायिक मात्र गरेका छैनौ रोजगारको क्षेत्रमा सरकारलाई समेत सहयोग गरेका छौ ।