कर्णालीमा थप एक जनाको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

सुर्खेत – कर्णालीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार माघ १५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।

यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको उनले बताए । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या ३१ पुगेको छ ।