संक्रमितको संख्या घट्दै, शनिबार ९९ जनामा कोरोना पुष्टि हेल्थ

काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ९९ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५७ जना पुरुष र ४२ महिलामा कोरोना पोजेटिभ देखिएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६७ हजार ८ सय १२ जनाले कोरोना जितेका छन् ।

नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै, हाल १४ जना भेन्टिलेटरमा र ६१ जना संक्रमित आईसियुमा उपचाररत छन् ।