वर्षा र हिमपातले स्थानीयमा ल्यायो खुशीयाली

बझाङ – पश्चिमी वायुको प्रभावका कारण अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानीसँगै हिमपात भएको छ । सुदुरपश्चिमको बझाङमा गएराती देखी हिमपात भएको छ । यस बर्ष पहिलो पटक बझाङमा पानीसँगै हिमपात भएको हो ।

पानी र हिमपात भए पछि यहाँका किसानहरु खुशी भएका छन् । लगाएको अन्न बाली सुक्ने र भोकमरी हुने भन्दै चिन्तामा परेका कृषकहरु हिमपात भएपछि खुशी भएका हुन् ।

बझाङका दर्जनौ ठाँउमा दहबगर, काँडा, सुर्मा, लेकगाँउ, मौलाली, मष्टालगायत अन्य ठाँउहरुमा वर्षा र हिमपात भएको स्थानीयले बताएका छन् । वर्षा नहुँदा हिउदे बाली विग्रने चिन्तामा परेका किसानलाई वर्षा र हिमपातले राहत पु¥याएको छ ।

गयराती देखी बर्षा र हिमपातका कारण बझाको विद्युत सेवा राती देखी नै अबरुद्ध भएको छ । बझाङसंगै सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमासमेत हिमपात भएको छ ।

हिमपातका कारण खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको छ । हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । । हिमपातका कारण चिसो बढ्दा जनजीवन भने कष्टकर बनेको छ ।