इरानी कूटनीतिज्ञलाई बेल्जियमको अदालतद्धारा २० वर्षको जेल सजाय

काठमाडौं – बेल्जियमको एक अदालतले फ्रान्समा सन् २०१८ मा हजारौँ निर्वासित इरानीहरूको एउटा ¥यालीमा बम विस्फोट गराउने षड्यन्त्र गरेको अभियोगमा इरानी कूटनीतिज्ञलाई २० वर्षको जेल सजाय हुने फैसला सुनाएको छ ।

भिएनामा रहेका बेला कूटनीतिज्ञ असादोल्लाह असादीले इरानी सत्तालाई सघाएको अदालतले ठहर गरेको छ । प्रहरीका अनुसार बेल्जियमको एक दम्पतीलाई असादीले विस्फोटक पदार्थ भएको एउटा प्याकेट दिएका थिए ।

तर विस्फोटको योजना विफल तुल्याइएको थियो । उनलाई सन् २०१८ को जूलाईमा पक्राउ गरिएको थियो ।

कुनैपनि इरानी अधिकारीमाथि सन् १९७९ को क्रान्ति पछि युरोपेली संघमा यस्तो प्रकारको आरोप लगाइएको यो पहिलो घटना हो ।

असादीबाहेक अन्य तीनजनालाई पनि बम बिस्फोट गर्ने योजनामा दोषी ठहर गरिएको छ । उनीहरुलाई जर्मनी, फ्रान्स र बेल्जियमको प्रहरीले संयुक्त अपरेशनको क्रममा पक्राउ गरेका थिए ।

फ्रान्सले इरानको गुप्तचर विभागमाथि योजना बनाएर हमला गरेको आरोप लगाएको छ भने इरानले आरोप षड्यन्त्र भन्दै अस्विकार गर्दै आएको छ । – एजेन्सी