सावधानी अपनाएर विद्यालयमै पठनपाठन

सुर्खेत- सुर्खेतको एक विद्यालयले सामाजिक दूरी कायम गरेर विद्यालयमै पठनपाठन सुरु गरेको छ । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरेर पठनपाठन सुरु गरेको हो । झण्डै तीन महिना पछि विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए ।

कोरोना भाइरसका कारण गत चैत ११ देखि देशब्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् । असार १ देखि वैकल्पिक सिकाइका लागि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन ।

अमरज्योतिले सामाजिक दूरी कायम गरेर पढाउन परीक्षणका रुपमा सुरुवात गरेको जनाएको छ । विद्यालयले आइतवार कक्षा ७ का २० जना विद्यार्थीलाई स्वास्थ्य सावधानी अपनाएर पढाएको हो । प्रधानाध्यापक थापाले विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पढाउन सुरु गरिएको बताए । ‘हामीले सामाजिक दूरी कायम गरेर पढाउन सकिन्छ कि भनेर पहिलो पटक अभ्यास गरेका हौं,’ प्रधानाध्यापक थापाले भने, ‘सबै विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विचारमा छौं । विस्तारै कक्षा ८, ९ र १० को पनि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।’ उनका अनुसार एउटा बेन्चमा एक जना र करिब दुई मिटरको दूरी हुने गरी विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ ।

विद्यालयले स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएको जनाएको छ । सबै विद्यार्थीलाई मास्क अनिवार्य र प्रवेश गर्दा गेटमै सेनिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ । अमरज्योतिले विद्यार्थीलाई भर्चुअल माध्यमबाट पनि शिक्षण सिकाइलाई निरन्तरता दिइएको छ ।