आगामी १० दिनभित्र ४ लाख ३० हजार फ्रन्टलाइनर्सलाई खोप लगाउने सरकारको लक्ष्य

कोभिड विरूद्दको खोप लगाउदै कर्णाली प्रदेश अस्पतालका कोरोना खोप व्यवस्थापनका संयोजक एवम बाल रोग विशेषज्ञ डाक्टर नवराज केसी।

काठमाडौँ – सरकारले आगामी १० दिनभित्र ४ लाख ३० हजार अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई खोप दिईसक्ने लक्ष्य राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा देशभरका ३ सय खोप केन्द्रबाट अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई खोप लगाउने लक्ष्य राखिएको जनाएको हो।

 

बुधबारबाट सुरु भएको खोप अभियानमा सबै खोप केन्द्रहरुमा उत्साहजनक सहभागिताले खोप प्रतिको विश्वास र अभियानको सफलता प्रष्ट दर्शाएको मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयका अनुसार विहान १० बजे सुरु भएको खोप अभियानमा दिउँसो १ बजेसम्ममा प्रदेश १ मा १ सय २७, प्रदेश २ मा ५ सय ४०, बागमती प्रदेशमा १ हजार २ , गण्डकी प्रदेशमा ३०६, लुम्बिनी प्रदेशमा २ सय २३, कर्णाली प्रदेशमा ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ३ सय ५ गरेर २ हजार ९ सय १ जनाले खोप प्राप्त गरिसकेका छन्।

यसको साथै यो अवधिभित्र खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ।