जुम्ला – जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् ।
आगलागी हुँदा गाउँका २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ
आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनास्थलमा रहेको टोलीले आगलागीबाट २५ घर जलेर नष्ट भएको खबर पठाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताउनुभएको छ उनले भन्नुभयो ‘गाउँका घरहरु जलेर नष्ट भएका छन्,’ ‘मानवीय क्षति भने भएको छैन, अन्नबाली र चौपायाको क्षति भएको भन्ने खबर छ । यकिन विवरण अझै आइसकेको छैन ।’
तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले भने गोठीगाउँमा हिउँदमा खासै मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको बताउनुभएको छ
उहाँले भन्नुभएको छ ‘गाउँमा पैदल हिँडेर जानुपर्छ, जनशक्ति कम भएकाले आगो नियन्त्रणमा लिन सकिएन,’ उनले भनिन्, ‘क्षतिको विवरण संकलन भइरहेको छ । मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान सबै मिलेर आगो नियन्त्रणमा लिन सफल भएका छौँ ।’