घर भाडा मिनाहाका लागि घरधनीहरूलाई पत्र पठाउने

सुर्खेत-सुर्खेत उद्योग वाणिज्य संघले घर भाडा मिनाहाका लागि घरधनीहरूलाई पत्र पठाउने भएको छ । लकडाउन अवधिमा जिल्लाका उद्योगी–व्यवसायीहरूको घरभाडा नलिनका लागि आग्रह गर्दै प्रत्येक घरधनीलाई चिठी पठाउने अभियान सुरु गर्ने भएको हो ।

लकडाउनका कारण करिब तीन महिनासम्म ठप्प रहेका व्यापार–व्यवसाय चौपट हुने र व्यापारी सडकमा आउने अवस्था भएको भन्दै संघले यस्तो अभियान सुरु गर्न लागेको हो । व्यापार चलेका बेला नियमित रूपमा भाडा तिर्दै आएका व्यापारीको अहिलेको बाध्यात्मक स्थितिलाई बुझेर मानवीय नाताले भाडा छुट दिन औपचारिक रूपमै चिठी पठाएर आग्रह गर्न लागिएको महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।