जुम्लाको तिला गाउँपालिकाको वडा र सीमाना परिवर्तन गरिने

सुर्खेत – जुम्लाको तिला गाउँपालिकाको वडा र सिमाना परिवर्तन गरिने भएको छ । प्रदेश सरकारले तिलाको वडा र सिमाना परिर्वतन गर्न केन्द्र सरकारलाई सिफारिस गरि पठाउने निर्णय गरेको हो । प्रदेश सरकारको गत पौष २८ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

यस्तै प्रदेश निजामति कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्ने, एकिकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधिको मस्यौंदा तयार गर्ने सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

मन्त्री केसीकाअनुसार कालिकोट जिल्लाको नरहरिथान गाउँपालिकाको भवन निर्माण गर्न २ करोड ७५ लाख बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयले पालिकालाई निकासा दिने निर्णय पनि गरेको छ भने आर्थिक वर्ष २०७८/७९ म संघीय समपूरक तथा विशेष अनुदानबाट सञ्चालन गर्ने आयोजना तथा कार्यक्रम स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय पनि सरकारले गरेको छ ।

‘त्यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको संशोधित संगठन संरचना बमोजिम कार्यालय पुनः स्थापना, सञ्चालन र कार्यक्रम व्यवस्थापनको लागि ३ करोड ९५ लाख बजेट रकमान्तरको लागि पनि स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ’ केसीले भनिन् । ratopati