देशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने

काठमाडौं– देशव्यापी रुपमा कोभिड–१९ खोप अभियान सुरु हुन एक हप्ता लाग्ने भएको छ । बिहिबार भारतबाट आएको कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भिमसिंह टिंकरीले बताए ।

भारतबाट आएको कोभिड–१९ विरुद्धको खोप राष्ट्रिय खोप भण्डारमा भण्डारण गरी अन्य खोप केन्द्रमा शुक्रबार बाटै पठाउन सुरु गरिने खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतिले जानकारी दिए ।

‘भारतबाट आएको खोपलाई राष्ट्रिय खोप भण्डारमा भण्डारण गरिएको छ,’ उनले भने, ‘सबै केन्द्रमा खोप पुगेपछि यो अभियान सुरु हुन कम्तिमा १ हप्तादेखि २ हप्ता लाग्न सक्छ ।’ भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप कोभिसिल्ड कसरी सुरु गर्ने भन्ने विषयमा विशेषज्ञसहित उच्चपदाधिकारीको मन्त्रालयमा बैठक बसिरहेको छ ।