डब्ल्युएचओले भन्यो : भ्याक्सिनमा गरिब देश छुटे भने महामारी सकिँदैन


एजेन्सी – कोरोना भ्याक्सिनका लागि ठूला देशहरूबीच होडबाजी चलिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले गरिब देशहरू पछि पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सोमबार जारी गरिएको वक्तव्यमा उनले भ्याक्सिनको उत्पादनले आशा जगाएको भए पनि वितरणमा चुनौती देखिएको बताएका हुन्।

धनी र गरिब देशबीच देखिएको वितरणको समस्यालाई उनले वास्तविक खतरा भनेका छन्। टेड्रोसले भनेका छन्‘,‘विभिन्न देशका सरकारले सबैभन्दा पहिले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई भ्याक्सिन दिने बताइरहेका छन्। यो राम्रो कुरा हो। तर‚ गरिब देशका स्वास्थ्यकर्मी र वृद्धवृद्धाभन्दा धनी देशका स्वस्थ युवा तथा वयस्कले पहिले भ्याक्सिन प्राप्त गर्नु ठीक कुरा होइन।’

उनका अनुसार कूल ४९ वटा धनी देशमा ३.९ करोड डोज वितरण हुँदा बाँकी गरिब देशमा यो संख्या २५ मात्र छ। ‘यो तथ्यांकले विश्व नै भयावह नैतिक विफलताको संघारमा पुगेको दर्शाउँछ‚ जसको मूल्य सबैभन्दा गरिब देशका मानिसले चुकाउनुपर्नेछ।’

भ्याक्सिनको वितरणमा समानता ल्याउनु देशहरूको जिम्मेवारी मात्रै नभएर रणनीतिक र आर्थिक दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेको टेड्रोसको ठहर छ।
भ्याक्सिनको समान वितरणका लागि डब्ल्यूएचओले सक्दो पहल गरिरहेको भन्दै उनले भ्याक्सिनको होडमा गरिब देशलाई पछि पारिएको खण्डमा महामारीबाट छुटकारा पाउन मुस्किल हुने चेतावनी दिए।

वितरण सुरू भएको पहिलो सय दिनभित्रमा सबै स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई भ्याक्सिन दिइनुपर्ने उनले बताए। हालसम्म पाँच उत्पादक कम्पनीबाट २ अर्ब डोज भ्याक्सिन सुरक्षित गरेको डब्ल्यूएचओले आउँदो महिनाबाट वितरण थाल्नेछ। वितरणमा गरिब देशलाई प्राथमिकतामा राखिएको छ।