काठमाडौं – भारतको गुजरातस्थित सुरतमा फुटपाथमा सुतिरहेका १८ जना मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ। बाँकी ३ जना गम्भीर घाइते भएका छन्।
सुरतको कीम–मन्डी रोडमा सुतिरहेका मजदुरहरुलाई गएराति १२ बजे ट्रकले किचेको हो। ट्रकले किच्दा १२ जनाको घटनास्थलमै र ३ जनाको अस्पतालमा उपचारका क्रममा निधन भएकाे भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएकाे छ। सबै मजदुर राजस्थानका रहेको प्रहरीले पुष्टि गरेको छ।
घटनामा एक ६ महिने बालकलाई सकुशल उद्धार गरिएको तर बालकका माता पिताको मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा आएको ट्रक एउटा ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएपछि फुटपाथमा सुतेका मजदुरमाथि चढेको थियो।