माछापालन व्यवसाय फस्टाउँदै

दाङ  – दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ ।

उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अगाडिसम्म केही किसानले मात्रै माछापालन गर्दै आएको भए पनि अहिले व्यावसायिकरूपमै माछापालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ युवाको आकर्षण बढेको हो ।

देउखुरीमा लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ भने घोराही उपहानगरपालिका–५ धर्ना माछापालनका लागि पकेट क्षेत्र घोषणा गरेर माछापालक किसानलाई अनुदान तथा प्राविधिक सहयोग प्रदान हुँदै आएको छ । बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसानको भनाइ छ ।

थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यो व्यवसायमा आकर्षण बढ्दै गएको घोराही–५ धर्नाका कृषक दीपक रावतले बताए ।
जिल्लामा हुने माछा उत्पादनले यहाँको माग धान्न सकेको छैन । करीब ७५० मेट्रिक टन माछाको आवश्यकता छ । हाल वर्षिक ५९५ टन माछा उत्पादन हुँदै आएको छ । बाँकी आवश्यक माछा भारतबाट ल्याउने गरिएको छ ।