धर्मेन्द्र बास्तोलाबाट विप्लवसम्म पुग्‍ने ‘कनेक्सन’ खोज्दै प्रहरी

काठमाडौं – प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला बुधबार ललितपुरबाट पक्राउ परे । उनीसँगै रहेका भनिएका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उम्कन सफल भए ।

बास्तोला प्रकाण्डपछि अर्थात् विप्लव समूहका तेस्रो तहका नेता हुन् । पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका बास्तोला युद्धकालीन माओवादी नेता हुन् । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीका पोलिटब्युरो सदस्य रहेका बास्तोला विप्लवसँगै प्रचण्डबाट छुट्टिएका थिए । प्रायस् कम बोल्ने नेतामा बास्तोला पर्छन् । विप्लवका विश्वासपात्रसमेत रहेका बास्तोला पक्राउ परेपछि प्रहरी भने उत्साहित देखिएको छ । बास्तोलामाथि प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्दा बरामद भएका सामग्रीको अध्ययन गर्ने प्रहरी तयारी छ । एक प्रहरी अधिकारीले भने, “प्रारम्भिक रुपमा केही सामाग्री फेला परेका छन् । त्यसको अनुसन्धान हुन बाँकी छ । त्यसबाहेक बयानबाट पनि केही खुल्न सक्छ । माथिल्लो तहका नेता भएकाले उनले मुख खोल्ने सम्भावना भने निकै कम हुनसक्छ ।”

बास्तोलाको साथबाट बरामद भएका मोबाइल, ल्यापटपलगायतको प्राविधिक अनुसन्धानबाट केही खुल्नसक्ने सम्भावना प्रहरी अधिकारी देख्छन् । बास्तोलाबाटै विप्लवसम्म पुग्‍ने ‘कनेक्सन’ खोजिने प्रहरी अधिकारी बताउँछन् ।

पछिल्लो तीन वर्षयता विप्लव पूर्ण रुपमा भूमिगत छन् । तर पार्टीनिकट मुखपत्रलाई भने उनले बेलाबेला भिडियो अन्तर्वार्ता दिँदै आएका छन् । विप्लवसम्म नेता खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलालगायत सीमित नेताहरुको पहुँच रहेको समूहकै नेताहरु बताउँछन् । पार्टीका सबैजसो बैठक र प्रशिक्षणसमेत विश्वकर्मा र बास्तोला खटिँदै आएका थिए । 12khari