नेपाल-भारत संयुक्त आयोगको बैठक आज

काठमाडौं – नेपाल-भारत संयुक्त आयोगको बैठक आज बस्दै छ। नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार हिजो तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।

ज्ञवाली दिल्ली जानुभएको हो। संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ। त्यस्तै, कोभिडविरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुने सरकारले जनाएको छ। बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको बताइएको छ।

पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै भारत त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा देखिएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन्। परराष्ट्र स्रोतका अनुसार मन्त्री ज्ञवालीले शुक्रबार भारतीय समकक्षी एस जयशंकरसँग छुट्टै संवाद गर्नेछन्।

भारतीय विदेशमन्त्री जयशंकरसँगको संवादपछि मात्रै आयोगको बैठक बस्ने कार्यसूची छ। आयोगको बैठक सकिएपछि साढे ३ बजे नेपाल–भारत सम्बन्धमा मन्त्री ज्ञवालीले प्रवचन दिने कार्यसूची रहेको छ।

मन्त्री ज्ञवालीको प्रवचनपछि मात्रै राजनीतिक भेटवार्ता हुनेछ। नयाँ राजनीतिक घटनाक्रमपछि भएको परराष्ट्रमन्‍त्रीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ। नक्सा प्रकरणपछि चिसिएको सम्बन्धलाई सुधार गर्न यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।औपचारिक कार्यक्रमबाहेक दिल्लीमा रहँदा परराष्ट्रमन्‍त्री ज्ञवालीले उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्,

भारतले गत वर्ष नेपालको कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण छ। नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाई लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गरेको थियो।

सीमा विवाद सुल्झाउने विषयलाई नेपालले विशेष जोड दिँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिमा समेत आयोगका बैठक र सीमाको विषयले प्राथमिकता पाइरहेकाले यसप्रति चासो बढेको छ। –थाहाखबर