पश्चिमी वायुको प्रभावले देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर पश्चिमी वायुको प्रभावले धेरै स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको भन्दै महाशाखाले प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा वर्षा भईरहेको जनाएको छ ।

देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने महाशाखाले जानाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ ।