भारतमा कोरोनाविरुद्ध खोप अभियान शुरु गर्न प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै


एजेन्सी – देशमा कोरोनाभाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मुख्यमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमणको अवस्थाको पनि मूल्यांकन गर्ने बताइएको छ ।

सोमबार साँझ चार बजे सो बैठक बस्ने अपेक्षा गरिएको छ । भारतको नियामक निकायले कोरोनाभाइरसविरुद्धका दुईवटा खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमित दिने निर्णय गरेपछि प्रम मोदीको मुख्यमन्त्रीहरुसँग यो पहिलो छलफल हुनेछ ।

शनिबार प्रम मोदीको अध्यक्षता बसेको एक उच्च स्तरीय बैठकले जनवरी १६ देखि भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने निर्णय लिइएको थियो । सरकारले यस अभियान अन्तरगत २ करोड स्वास्थ्यकर्मी र महामारीविरुद्ध फ्रन्टलाइनमा काम गर्ने थप १ करोडलाई खोप दिने बताएको छ ।

त्यसपछि ५० वर्षमाथिका नागरिक र स्वास्थ्य समस्या भएका ५० वर्षभन्दा कमका नागरिकलाई खोप दिइने बताइएको छ ।

स्रोत : हिन्दुस्तान टाइम्स